नेकपा अध्यक्षद्वय ओली र प्रचण्डद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

शनिबार, १९ साउन २०७५, १७ : ०८
नेकपा अध्यक्षद्वय ओली र प्रचण्डद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पार्न सफल नेपाल राष्ट्रिय टोलीलाई बधाई दिनुभएको छ ।

शुक्रबार राति भएको नेदरल्याण्ड्सविरुद्धको खेलमा एक रनको रोमाञ्चक जित हात पारेकामा आफूलाई खुशी लागेको बताउँदै प्रधानमन्त्री ओलीले आगामी यात्राका लागि पनि सफलताको शुभकामना दिनुभयो । प्रधानमन्त्री ओलीले आज ट्वीटरमार्फत कप्तान पारस खड्का र नेपाली टिमलाई बधाई तथा शुभकामना दिनुभएको हो ।

ट्वीटरमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “नेपाली क्रिकेट टिमले नेदरल्याण्ड्समा अन्तर्राष्ट्रिय खेलमा हासिल गरेको जितका लागि कप्तान पारस खडका र सम्पूर्ण खेलाडीलाई बधाई ज्ञापन गर्दछु । नेपाली क्रिकेटले आगामी दिनमा थप सफलता प्राप्त गरोस् भन्ने शुभकामना समेत व्यक्त गर्दछु ।” नेपालले शुक्रबार भएको खेलमा नेदरल्याण्ड्समाथि एक रनको रोमाञ्चक जित हासिल गरेको थियो । 

अध्यक्ष प्रचण्डद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा पहिलो जीत हात पार्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ ।

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको पहिलो पाइला निकै उत्साहजनक र प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले शुक्रबार राति नेदरल्याण्ड्सविरुद्ध नेपालले ऐतिहासिक जीत हासिल गर्न सफल भएबाट विश्व क्रिकेटमा समेत नेपालले गौरवपूर्ण इतिहास बनाउने आशा झनै बलियो भएको बताउनुभएको छ ।

अध्यक्ष दाहालले भन्नुभएको छ, “नेपाली क्रिकेट टोलीका यो जीतका लागि कप्तान पारस खड्कादेखि सम्पूर्ण टोली, प्रशिक्षक र विश्वभरीका नेपालीमा हार्दिक बधाई तथा भविष्यमा अझै राम्रो खेलको आशासहित शुभकामना व्यक्त गर्दछु ।” (रासस)

प्रतिक्रिया दिनुहोस