काठमाडौं । काठमाडौं उपत्यकामा हैजा संक्रमित बालबालिकाको संख्या सात पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार हालसम्म संक्रमित ४५ मध्ये १४ वर्षमुनिका सातजना छन् । उनीहरू काठमाडौं महानगरपालिका र काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिकाका बालबालिका हुन् ।मंगलबार थप तीनजनामा हैजा संक्रमण पुष्टि भएको छ । योसँगै यो वर्ष देशभर हैजा संक्रमितको संख्या ४५ पुगेको हो ।
महाशाखाका अनुसार काठमाडौं महनागरपालिकामा सबैभन्दा धेरै १९ जनामा हैजा पुष्टि भएको छ । काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिकामा नौ, गोकर्णेश्वरमा दुई, चन्द्रागिरिमा दुई, नागार्जुनमा तीन, बूढानीलकण्ठ र कीर्तिपुर नगरपालिकामा एक÷एकजनामा हैजा संक्रमण देखिएको छ ।
यस्तै, ललितपुर महानगरपालिकामा तीन र महालक्ष्मी नगरपालिकामा एकजनामा हैजा पुष्टि भएको छ ।
भक्तपुरको मध्यपुर थिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा एक÷एकजनामा हैजा देखिएको छ । नुवाकोटको ककनी गाउँपालिकामा पनि एकजनामा हैजा संक्रमण पुष्टि भएको महाशाखाको तथ्यांक छ ।हालसम्म परीक्षण गरिएका धारा, ट्युवबेल, जारलगायत सबै स्रोतका पानीमा हैजा फैलाउन सक्ने जीवाणु भेटिएकाले पानी उमालेर मात्र पिउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ साउन २०७९, १३ : २७
लेखकबाट थप