अहिलेको राजनीतिले संघीयता बचाउन सक्दैन : रामकुमारी झाँक्री

सफल खबर संवाददाता

शुक्रबार, २८ बैशाख २०८१, ११ : ४४
अहिलेको राजनीतिले संघीयता बचाउन सक्दैन : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समावादीकी सचिव रामकुमारी झाँक्रीले अहिलेको राजनीतिले संघीयता बचाउन नसक्ने बताएकी छन् । काठमाडौंमा आयोजित नेपाली कांग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृतिसभामा बोल्दै उनले संघीयता सवलीकरणका लागि शासकीय स्वरुप वा निर्वाचन प्रणाली फेर्न जरुरी रहेको बताइन् ।

उनले शासकीय स्वरुप र निर्वाचन प्रणाली नफेरिकन कतै नपुगिने दाबीसमेत गरिन् । नेतृ झाँक्रीले संघीयताले पूर्णता पाउने कुरामा आफू विश्वस्त नरहेको भन्दै संघीयता कहिलेसम्म हो भन्ने कुरामा शंका रहेको बताइन् । स्थानीय तहलाई जवाफदेही बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

‘समानुपातिक र प्रत्यक्ष निर्वाचित गरी २७५ जना सांसद चुनिसकेपछि राष्ट्रियसभामा फेरि ५९ जना किन चाहियो ? राष्ट्रियसभामा ५९ जना कायम राख्ने हो भने समानुपातिक प्रणाली हटाउनुपर्छ । हामीले कि शासकीय स्वरुप फेरौं कि त निर्वाचन प्रणाली फेरौं वा निर्वाचन कानूनमा केही न केही फेरौं । केही पनि नफेरिकन हामी कतै पुग्दैनौं’, उनले भनिन्, ‘संघीयता कसरी बाँच्छ, यसले पूर्ण खोप पाउँछ कि पाउँदैन म भन्न सक्दिनँ । यो राजनीतिले कसरी बचाउला यो संघीयता ? यो बच्चाले ९ महिनासम्मको पूर्ण खोप पाउँछ कि पाउँदैन ? त्यसपछिको बुस्टर डोज त म भन्नै सक्दिनँ ।’

शासकीय स्वरुपहरुको सम्बन्धमा वा निर्वाचन प्रणालीको सम्बन्धमा ४० र ६० प्रतिशतको मिश्रित निर्वाचन प्रणाली हेर्नुपर्नेमा उनले जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस