आज साँझदेखि कैलालीका सीमानाका बन्द हुने

रासस

शुक्रबार, २८ बैशाख २०८१, ११ : २९
आज साँझदेखि कैलालीका सीमानाका बन्द हुने

कैलाली । भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने भएका छन् । भारतमा हुन लागेको लोकसभा सदस्यको निर्वाचनका लागि जिल्लास्थित सबै सीमानाका बन्द हुने भएका हुन् ।

भारतको उत्तर प्रदेशस्थित खिरी जिल्लामा हुन लागेको लोकसभा सामान्य निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । ‘यही वैशाख ३१ गते खिरीमा लोकसभा सामान्य निर्वाचन हुँदैछ, मतदान समाप्त नहुँदासम्म नेपाल-भारत अन्तर्राष्ट्रिय सीमा नाका बन्द रहने भनी भारतीय पक्षबाट पत्राचार भएको छ’, उनले भने, ‘उक्त निर्वाचनलाई मध्यनजर गर्दै आज (शुक्रबार) साँझ ६ बजेदेखि वैशाख ३१ गते मतदान सम्पन्न नहुन्जेलसम्म सीमानाका बन्द हुने छन् ।’

सुरक्षा संवेदनशीलताका कारण सो अवधिमा आवतजावत पूर्णरुपमा बन्द रहने उनले जानकारी दिए । 

 

प्रतिक्रिया दिनुहोस