चितवन राष्ट्रिय निकुञ्जमा १० महिनामा २१ गैँडा मरे

सफल खबर संवाददाता

शुक्रबार, २८ बैशाख २०८१, १० : १४
चितवन राष्ट्रिय निकुञ्जमा १० महिनामा २१ गैँडा मरे

File pic

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा गैँडा मरेका छन् ।  चोरी सिकारी गर्नेले दुईवटा मारेका तथा अन्य १९ वटा कालगतिले मरेका हुन्।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका गैँडामध्ये सातवटा भाले, सातवटा पोथी र पहिचान नभएका सातवटा रहेका छन्। 

गैँडा दलदलमा फसेर, आपसमा जुधेर, बुढो भएर, बाघको आक्रमणबाट, चोरी सिकारी गर्नेबाट, मानवीय गतिविधि, र करेन्ट लागेर मर्ने गरेका छन्। संख्या बढेपछि बासस्थानका कारण गैँडा मर्ने क्रम बढेको उनले बताए।

‘घाँसेमैदान र सिमसार क्षेत्रको व्यवस्थापन गर्नसके गैँडा संरक्षणमा सहयोग पुग्छ,’ उनले भने। यसका लागि निकुञ्जले नयाँ सिमसार क्षेत्रको व्यवस्थापन, पुरानाको मर्मत र घाँसेमैदान व्यवस्थापन गरिरहेको छ।

गत आर्थिक वर्षमा  १३ वटा भाले, सातवटा पोथी र एउटा पहिचान हुनसकेको गैँडा मरेको थियो । हाल निकुञ्जमा  छ सय ९४ गैँडा छन्। 

दुर्लभ एकसिङ्गे गैँडाका लागि उपयुक्त बासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या धेरै भएपछि निकुञ्जले केही गैँडालाई आन्तरिक स्थानान्तरण गरेर पूर्वी क्षेत्रमा लगेको छ।

प्रतिक्रिया दिनुहोस