प्रचण्ड नेतृत्वको सरकारलाई दुवै जसपाको समर्थन

सफल खबर संवाददाता

मंगलबार, २५ बैशाख २०८१, १५ : २७
प्रचण्ड नेतृत्वको सरकारलाई दुवै जसपाको समर्थन

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन कायम राख्ने जनाएका छन् ।

वैशाख २२ गते जनता समाजवादी पार्टी नेपालबाट सात जना सांसद अलग भएर अशोक राईको नेतृत्वमा नयाँ जसपा गठन भएको थियो ।जसपा नेपाल नै विभाजन भएपछि सरकारमा रहेको सो पार्टीले के गर्ला भन्नेबारे अन्योल रहेकै बेला यादवले प्रधानमन्त्री प्रचण्डलाई भेटेर सरकारलाई दिँदै आएको समर्थन कायमै रहने जानकारी गराएका हुन् ।

गएराति अमेरिका र कतार भ्रमण पूरा गरी स्वदेश फर्किएका यादव मंगबलार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि रातोपाटीलाई प्रतिक्रिया दिँदै यादवले समर्थन कायमै रहने बताए ।  प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा अध्यक्ष यादव  उपप्रधानसहित स्वास्थ्य मन्त्री छन् भने वन मन्त्रीमा नवलकिशोर साह छन् । 

तर, मन्त्री साह उपेन्द्र यादवको साथ छाडेर अशोकतिर गएका छन् । यस्तै अशोक राई नेतृत्वको जसपाले पनि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन कायम रहने निर्णय गरिसकेको छ । नवगठित जसपाको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन कायम रहने निर्णय गरेको हो । 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान गठबन्धन फुटाउनका लागि गतिविधि गरेको कांग्रेस र एमालेका नेताहरूको दाबी छ । यही बिचमा जसपाकै राई समूहले पार्टी फुटाएर यादवको योजनामा ब्रेक लगाएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस