आफूले संसद्‌मा बोल्न पाउनुपर्ने माग राख्दै गृहमन्त्री लामिछानेले लेखे सभामुखलाई पत्र

सफल खबर संवाददाता

मंगलबार, २५ बैशाख २०८१, १४ : ५७
आफूले संसद्‌मा बोल्न पाउनुपर्ने माग राख्दै गृहमन्त्री लामिछानेले लेखे सभामुखलाई पत्र

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा आफूले  बोल्न पाउनुपर्ने भन्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् ।लामिछानेले मंगलबार निजी सचिवालयमार्फत पत्र लेख्दै आफूमाथि लागेका आरोपमाथि जवाफ दिन चाहेकाे बताएका हुन् ।

‘सङ्घीय संसद्को गत अधिवेशनमा मैले सम्हालेको मन्त्रालयसँग सम्बन्धित एवम् मेरो व्यक्तिगत विषयमा माननीय सदस्यहरूले विभिन्न प्रश्न उठाउनु भएको थियो,’ पत्रमा उनले भनेका छन्, ‘सो सम्बन्धमा मैले संसद्मा उपस्थित भइ सार्वभौम संसद मार्फत आम जनतालाई जानकारी गराउन चाहेको थिएँ । तर संसद्मा उत्पन्न भएको गतिरोधको कारण सम्भव भएन ।

जनताको जिम्मेवार प्रतिनिधि भएको कार सांसदहरूले उठाएका विषयमा आम नागरिकलाई जानकारी गराउनु आफ्नो अधिकार भएकाले जवाफ दिने व्यवस्था मिलाइ दिन गृहमन्त्री लामिछानेले सभामुख घिमिरेलाई आग्रह गरेका छन् ।

‘साथै आफ्नो व्यक्तिगत विषयमा उठेका प्रश्नहरूको सम्बन्धमा उजुरी जाहेरी, अनुसन्धान तथा अभियोजनसमेत नभएको भनी महान्यायाधिवक्ता कार्यालयबाट मलाई जानकारी गराइएको पत्र यसैसाथ सम्लग्न गरी सम्माननीयज्यू समक्ष निवेदन गर्दछु,’ पत्रमा उल्लेख छ ।

सहकारीको रकम हिनामिना प्रकरणमा रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो ।

 

यसले गर्दा लामिछानेले संसद्मा बोल्न पाएका छैनन् । अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुख घिमिरेले आगामी अधिवेशन शुरू हुनुअघि छलफलका लागि मंगलबार नै  दलका शीर्ष नेताहरू बैठक बोलाएका थिए ।

संसद्को बर्खे अधिवेशन यही वैशाख २८ गतेदेखि शुरू हुँदैछ । बर्खे अधिवेशनलाई बजेट अधिवेशनका रूपमा समेत चिनिन्छ । 

संसद्को आगामी अधिवेशनलाई प्रभावकारी बनाउन सभामुख घिमिरेले संसदीय समितिका सभापति र सचेतकहरूसँग सामूहिक र प्रमुख सचेतक तथा मुख्य सचेतकसँग अलग–अलग भेट गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस