इलामको विजय र्‍यालीमा ओली– सुहाङलाई राजकुमार भन्नेलाई जनताले देखाइदिए

सफल खबर संवाददाता

मंगलबार, १८ बैशाख २०८१, १६ : ४७
इलामको विजय र्‍यालीमा ओली– सुहाङलाई राजकुमार भन्नेलाई जनताले देखाइदिए

इलाम। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाममा उठेका अनेक प्रश्नको जवाफ मतदाताले व्यवहारबाट दिएको बताएका छन् । एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने अभियानलाई मतदाताले अनुमोदन गरेको उनले बताए ।

मंगलवार इलाममा विजय र्‍यालीपछिको सभालाई सम्बोधन गर्दै ओलीले एमाले उम्मेदवारलाई राजाको छोरा भनेर आरोप लगाउनेलाई मतदाताले जवाफ दिएको बताएका हुन्।‘अनेक प्रश्न उठेका थिए, जवाफ व्यवहारबाट दिनुभएको छ ।

सुहाङलाई राजाको छोरा भनेर तुलना गरिएको थियो, के सुवास नेम्वाङ राजा हुनुहुन्थ्यो ? उहाँ जनताको छोरा होइन । योद्धाको छोरो योद्धा नभएर के स्यालको छोरा बाघ हुन्छ ?’, ओलीले प्रश्न गरे ।नेपाली कांग्रेसका नेताहरूले नेम्वाङको उम्मेदवारीलाई वंश वादसँग जोडेका थिए । ओलीले समृद्ध नेपाल सुखी नेपालीको एमाले अभियानलाई जनताले अनुमोदन गरेको बताए । 

 

ओलीले नेपालको पहिचान नेपाली भएकोले प्रदेशको साझा नाम राख्दा केही नबिग्रने बताए ।‘अघि सुहाङले भन्नुभयो– सयौं थुँगा फूलका एउटै नेपाली हौं । हामी बहुजाती र बहुभाषी छौं । पहिचान के हो भन्दा इलाममा सूर्य चिन्हले जित्यो त्यही पहिचान । सूर्योदयको ठाउँमा जित्यो, समृद्धि नेपाल सुखी नेपालको नाराले सुदूरमा पनि जित्यो । त्यही पहिचान हो’, ओलीले भने । 

 

ओलीले इलामका सचेत जनतालाई सलाम गर्न चाहेको बताए । ‘देश विकासको संकल्प साथ गरिएको प्रतिबद्धता हो, उपयुक्त उम्मेदवार छान्नु भएको छ, एमाले कार्यकर्ताको एकतालाई सलाम भन्न चाहन्छु’, ओलीले भने ।

प्रतिक्रिया दिनुहोस