हामी समाजवादतर्फ हैन विकृत पुँजीवादतर्फ अघि बढिरहेका छौँ : उपेन्द्र यादव

सफल खबर संवाददाता

मंगलबार, २० चैत्र २०८०, १५ : १२
हामी समाजवादतर्फ हैन विकृत पुँजीवादतर्फ अघि बढिरहेका छौँ : उपेन्द्र यादव

काठमाडौँ । उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादको संसारमा कुनै एउटा मोडालिटी नभएकोले त्यसलाई कपी गरेर अर्को देशमा लागू गर्न सक्ने अवस्था नभएको बताएका छन् ।

मंगलबार काठमाडौँमा समाजवादी मोर्चाले गरेको छलफल कार्यक्रममा बोल्दै उनले नेपालमा उदारवादी लोकतान्त्रिक गणतन्त्र पुँजीवादी व्यवस्था जस्तै अगाडि बढिरहेको बताए ।

उनले भने,‘यसको अभ्यासबाट, अहिलेको संविधानको अभ्यासबाट उदारवादी गणतन्त्र त अगाडि बढ्ला तर समाजवादको स्थापना हुन सक्दैन । अहिलेको संवैधानिक, राजनीतिक प्रणालीमै आमूल परिवर्तन नगरीकन समाजवाद हैन विकृत पुँजीवादतर्फ हामी जान्छौँ । त्यसकारण त्यहाँ परिवर्तन गर्नुपर्छ । हाम्रो समाज वर्ग विशेष मात्र हैन, जाती विशेष समाज पनि हो ।’

यादवले अगाडि भने,‘मार्क्सले वर्ग विशेषका आधारमा समाजवाद ल्याउने सपना देखे र संसारभर पुँजीवादका विरुद्धमा मजदुर र सर्वहाराबाट क्रान्ति भए । तर हाम्रो समाजमा वर्गपनि छ र जातपनि छ ।

त्यहाँ वर्गीय उत्पीडन थियो हाम्रो समाजमा जातपनि छ, जातीयतापनि छ, जुन वर्णव्यवस्थादेखि हुर्कँदै आएको हो । सबै शक्तिको नेतृत्वमा एउटा जाती रहने र अरू जातहरू अछुत अपहेलित, सहभागिता नहुने, शक्तिको बाँडफाँडमा नहुने अवस्था छ । विकासका लागि उ अगाडि बढ्न नपाउने अवस्थाको अन्त्य नगरीकन समाजवादको कल्पना गर्न सकिँदैन ।’

यादवले यूरोपबाट माक्सवादी समाजवाद अन्त्य भइसकेको बताए । भारतमा भीम राव लोहियाले समाजवादका लागि लोकतन्त्र र स्वतन्त्रता हुनुपर्ने बताएको र समानता, लोकतन्त्रसँगै सामाजिक न्यायबिना समाजवाद नबन्ने बताएको उल्लेख गरे । 

उनले स्रोत र साधन, अवसरको वितरण न्यायपूर्ण भएन भने सामाजिक न्याय हुँदैन, न्याय, स्वतन्त्रता र समानता भएन भने समाजवाद कल्पना गर्न नसकिने उल्लेख गरे । सामाजिक असमानता, अन्याय, जात, लिङ्को बीचमा आधार रहेको, बहुराष्ट्रियता भएको, सहभागिता र उनीहरूको पहिचानलाई चिनेर त्यहाँ राज्यद्वारा सैकरोडौँ वर्षमा सिर्जना गरिएका विभेदलाई उखेलेर नफालेसम्म कस्तो खालको समाजवाद हुन्छ भन्दै यादवले प्रश्न गरे ।