हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दाबी

एजेन्सी

सोमबार, ०१ माघ २०८०, २० : ५१
हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दाबी

सोल । उत्तर कोरियाले हाइपरसोनिक युद्धाभ्यासयुक्त नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको सोमबार बताएको छ । उक्त परीक्षण दक्षिण कोरियाली र अमेरिकी लक्ष्यलाई धम्की दिन उन्नत हतियारको खोजीमा पछिल्लो सफलता भएको उसको भनाइ छ ।

प्योङयाङको यस वर्षको पहिलो ज्ञात हतियार परीक्षण र ठोस-इन्धन हाइपरसोनिक मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र (आईआरबीएम)को पहिलो परीक्षण सोलको सेनाले आइतबार दिउँसो पत्ता लगाएको थियो ।

आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) को संक्षिप्त रिपोर्टले ठोस-इन्धन आईबीआरएमबी हाइपरसोनिक युद्धाभ्यास नियन्त्रित वारहेडयुक्त भएको बताएको छ । परीक्षणको उद्देश्य हतियारको ‘ग्लाइडिङ र कौशलता विशेषताहरू’ तथा ‘नयाँ विकसित बहुचरण उच्च थ्रस्ट ठोस-इन्धन इन्जिनको विश्वसनीयता’ लाई प्रमाणित गर्न भएको केसीएनएले बताएको छ ।

केसीएनएले आइतबारको प्रक्षेपणबाट कुनै पनि छिमेकी मुलुकको सुरक्षामाथि कुनै असर नगरेको र यसको क्षेत्रीय अवस्थासँग कुनै सरोकार नभएकोसमेत बताएको छ ।

यद्यपि प्योङयाङले दक्षिण कोरियासँगको मुलुकको तनावपूर्ण सामुद्रिक सीमा नजिकै लाइभ-फायर अभ्यास आयोजना गरेको केही दिनपछि यो परीक्षण भएको छ । यसले जवाफी अभ्यास र केही दक्षिण कोरियाली सीमावर्ती टापुहरूलाई खाली गर्न आदेशलाई प्रेरित गरेको छ ।

गत साता उत्तर कोरियाली नेता किम जोङ उनले सोललाई आफ्नो ‘प्रमुख दुश्मन’ को संज्ञा दिएपछि र प्रमुख हतियार कारखानाहरूको भ्रमण गर्दा दक्षिण कोरियालाई नष्ट गर्न आफूले कुनै सङ्कोच नमान्ने चेतावनी दिएपछि यस्तो परीक्षण भएको छ ।

सोलको रक्षा मन्त्रालयले प्रक्षेपणको निन्दा गर्दै उत्तर कोरियाले दक्षिणविरुद्ध ‘प्रत्यक्ष उत्तेजना’ गरेको खण्डमा ‘अत्यधिक प्रतिक्रिया’ दिने बताएको छ । उत्तर कोरियाको यो व्यवहार स्पष्ट रूपमा उत्तेजित पार्ने खालको छ, जसले ‘ब्यालेस्टिक क्षेप्यास्त्रको प्रयोगमाथि प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन गर्दछ, साथै हामी कडा चेतावनी जारी गर्छौं र यसलाई तुरुन्त रोक्न आग्रह गर्छौं ।’

ठोस-इन्धन क्षेप्यास्त्रहरूलाई लुकाउन सजिलो हुन्छ र यसलाई फायर गर्न छिटो हुन्छ । हाइपरसोनिक क्षेप्यास्त्रहरूले सामान्यतया प्रयोगकर्ताहरूलाई लक्ष्यमा राम्रोसँग हिट गर्न उडानमा कौशलता देखाउन अनुमति दिन्छ । दुवै प्रविधि लामो समयदेखि मिको उद्देश्यहरूको सूचीमा छन् ।

‘उत्तर कोरिया एकै समयमा ठोस इन्धन रकेट बुस्टरको प्रयोग गरेर हाइपरसोनिक क्षेप्यास्त्र तथा आईआरबीएमको विकासका लागि अगाडि बढिरहेको छ’, कोरिया रिसर्च इन्स्टिच्युट फर नेसनल स्ट्राटिजीका क्षेप्यास्त्र विशेषज्ञ चाङ यङ-क्युनले भने, ‘मध्यमदेखि लामो दूरीका हाइपरसोकि क्षेप्यास्त्रहरू अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट बच्न गुआममा हमला गर्न विशेष रूपमा उपयोगी हुनेछन् ।’

उत्तर कोरियाको अन्तिम क्षेप्यास्त्र परीक्षण डिसेम्बर १८ मा ह्वासोङ-१८ ठोस-इन्धन अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आईसीबीएम)को थियो ।

केसीएनएले आफ्नो सोमबारको रिपोर्टका साथ क्षेप्यास्त्र परीक्षणको एउटा तस्बिर पनि जारी गरेको छ, जसमा परीक्षणको निरीक्षण गर्न किम उपस्थित भएको उल्लेख गरिएको छैन ।

अमेरिकास्थित विश्लेषक अङ्कित पाण्डाले विशेषज्ञ साइट एनके न्युजसँग तस्बिरले क्षेप्यास्त्रमा एउटा कथित म्यानुभरेबल रि-इन्ट्री वाहन (एमआरभी) पनि देखाएको बताए । उनका अनुसार प्योङयाङले उन्नत सटिकता र क्षेप्यास्त्र प्रतिरक्षालाई ‘राम्रोसँग आरपार गर्ने’ क्षमतायुक्त हतियार विकसित गर्ने प्रयास गरिरहेको छ ।

गत वर्ष किमले संविधानमा आणविक शक्तिका रूपमा मुलुकलाई स्थायी हैसियतमा पु¥याएपछि र उन्नत आईसीबीएमको परीक्षण गरेपछि दुवै कोरियाबीचको सम्बन्ध दशकौंमा सबैभन्दा तल्लो स्तरमा पुगेको छ ।

यसैबीच परम्परागत सहयोगी रुस र उत्तर कोरियाले हालै सम्बन्धलाई बढाएका छन् । किमले सेप्टेम्बरमा रुसको सुदूरपूर्वमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न एउटा दुर्लभ विदेश भ्रमण गरेका थिए ।

मस्कोका रक्षा तथा विदेशमन्त्रीसहित वरिष्ठ रुसी अधिकारीहरूले पनि गत वर्ष उत्तर कोरियाको भ्रमण गरेका थिए । दुवैतर्फको भ्रमणबाट सम्भावित हतियार सम्झौताको सम्भावनामाथि किएभका सहयोगीहरूबीच चिन्ता बढेको थियो ।

केसीएनएको रिपोर्टअनुसार सोमबार विदेशमन्त्री चो सोन हुईको नेतृत्वमा उत्तर कोरियाली सरकारको एक प्रतिनिधिमण्डल आधिकारिक भ्रमणका लागि मस्को पुगेको छ ।

गत वर्ष प्योङयाङले एउटा जासुसी उपग्रह सफलतापूर्वक अन्तरिक्ष कक्षमा स्थापना गरेको थियो । यसलाई दक्षिण कोरियाले युक्रेनमा मस्कोलाई युद्धका लागि हतियारको खेपको बदलामा रुसी सहयोग प्राप्त भएको दाबी गरेको थियो ।

कठिन आर्थिक स्थिति भए पनि प्योङयाङले सन् २०२३ मा आफ्नो पहिलो ठोस-इन्धन आईसीबीएमयुक्त हतियारहरूको परीक्षणको रेकर्ड-ब्रेकिङ शृङ्खला आयोजना गरेको थियो । यसलाई विश्लेषकहरूले ठूलो प्राविधिक सफलता भनेका छन् । 

प्रतिक्रिया दिनुहोस