एक महिनाभित्र टार्गेट पूरा नगर्ने कर्मचारीको जिम्मेवारी हेरफेर हुन्छ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

सोमबार, ०१ माघ २०८०, १३ : ५२
एक महिनाभित्र टार्गेट पूरा नगर्ने कर्मचारीको जिम्मेवारी हेरफेर हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले दिएका टार्गेट एक महिनाभित्र पूरा नगर्ने कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने बताएका छन् । सोमबार अर्घाखाँचीस्थित सन्धीखर्कको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । आफू नियमित रूपमा १० बजेभित्रै कार्यालय सिंहदरबार पुगेर मन्त्रालयको रिपोर्टिङ लिने गरेको भन्दै उनले टार्गेट अनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिएको बताए ।

‘म अहिले १० बजे नै नियमित रूपमा सिंहदरबार जाने गरेको छु । मन्त्रालयको रिपोर्टिङ लिने गरेको छु । उहाँहरू एक महिनाको टार्गेट दिएको छु । जिम्मेवारी पुरा नगर्नेलाई हेरफेर गरिन्छ’, उनले भने ।

यस्तै उनले आफ्नै कार्यकालमा संघीय निजामती ऐन, शिक्षा ऐन, प्रहरी ऐन लगायत ऐनहरू कार्यान्वयन नहोला कि भन्ने डर भइरहेको उनले बताए । त्यसैले आफ्नो काँधमा धेरै जिम्मेवारी भएकाले त्यसलाई गम्भीरतापूर्वक लागि परेको प्रचण्डको भनाइ थियो ।  

उनले एक वर्षको कार्यकालमा अर्थतन्त्र डुब्यो भन्ने आतङ्कबाट मुक्त भएको उनको जिकिर छ ।  अर्थतन्त्रको सूचकांकमा उल्लेख्य सुधार आएको, विदेशी मुद्रा  सञ्चिति इतिहासमै बढी भएको, भुक्तानी सन्तुलन र रेमिटेन्स  बढेको, सार्वजनिक संस्थान बिस्तारै नाफामा जान लागेको, बन्द भएको उद्योग सञ्चालन भएको प्रधानमन्त्री प्रचण्डले दाबी गरे ।

यस्तै उनले सामाजिक न्याय र सुशासनको क्षेत्रमा सरकारले राम्रो गरेको जिकिर गरे । 

प्रतिक्रिया दिनुहोस