अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच सिंगापुरमा एेतिहासिक वार्ता सुरु

मंगलबार, २९ जेठ २०७५, ०७ : ४५
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच सिंगापुरमा एेतिहासिक वार्ता सुरु

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीचको  अभूतपूर्व शिखर वार्ता सुरु भएको छ । सिंगापुरको सेन्तोसा टापुस्थित पाँचतारे होटल क्याम्पेलामा मंगलबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो ।

दुबैले एकअर्कासँग हात मिलाएर ऐतिहासिक भेटवार्ताको सुरुवात गरेका छन् । उक्त भेट ४५ मिनेटदेखि एक घण्टा लामो हुने अनुमान गरिएको थियो । दुबै देशका अनुवादक पनि उक्त भेटमा उपस्थित हुनेछन् ।

किम जोंग उनसँग भेट गर्नु ठिक अघि अमेरिकी राष्ट्रपति ट्रम्पले एक ट्वीट गरेका छन् जसमा यो बैठकका लागि ट्रम्पको आशंकाको झलक पाइन्छ । ट्रम्पले लेखे, ‘स्टाफ र प्रतिनिधीबीचको बैठक राम्रै चलिरहेको छ तर अन्त्यमा त्यसले त्यती महत्व राख्दैन । तर यो भेटघाटमा कुनै वास्तविक सम्झौता हुन्छ हुँदैन भन्ने बारे हामी सबैले निकै चाँडै थाहा पाउनेछौं ।
 

किमका लागि सिंगापुरमा उत्साहः
आशंका आ–आफ्नो ठाउँमा छ तर आशा पनि कम छैन । १८ महिना अघिसम्म एक अर्कालाई हमलाको धम्की दिइरहेको देशले सँगै मिलेर शान्तीको मार्ग प्रशस्त गरुन् भन्ने सबैको चाहना छ । त्यसकारण सोमबार जब किम जोंग उन सिंगापुर घुमिरहेका थिए तब त्यहाँका मानिसहरुले उनलाई देखेर अत्यधिक उत्साहित भए ।

किमले पनि सिंगापुरवासीलाई निराश बनाएनन् । उनले मुस्कुराउँदै, हात हल्लाएर उनीहरुलाई अभिवादन गरे । ट्रम्पले निकै अपेक्षा राखिएको वार्ता शान्ति प्राप्तिका लागि 'एक पटकको अवसर' भएको बताएका छन्।

शिखर वार्ताले गत वर्ष आरोपप्रत्यारोप र एकअर्कालाई चेतावनी दिने गरेका दुई नेतामा आएको नाटकीय परिवर्तनलाई इंगित गर्दछ । -बीबीसी

प्रतिक्रिया दिनुहोस